News Griha :: न्यूजगृह
सशस्त्रको केन्द्रीय गोदामघरमा आगलागी प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन 

काठमाडौं— काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदामघरमा आगलागी भएको थियो।

चैत २६ मा भएको आगलागीबारे छानबिन गर्न गृहमन्त्रालयले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो।

छानबिन प्रतिवेदन बिहीबार गृहमन्त्रीलाई हस्तान्तरण गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्प्युटर इन्जिनियर शुस्मा श्रेष्ठ सदस्य थिए। 

१७ दिनसम्म छानबिन गरेर समितिले प्रतिवेदन बुझाएको हो। सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समितिले त्यसबारे छानबिन गरिरहेको छ।

दुवै प्रतिवेदन प्राप्त भएपछि आगलागीका कारण र क्षतिबारे सार्वजनिक गरिने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि सशस्त्र प्रहरी बल मुख्यालय हलचोक परिसरमा रहेको गोदामघर भासिएपछि बलम्बुमा सारिएको हो। अहिले हलचोकस्थित गोदाममा हातहतियार र गोलीगठ्ठा मात्रै भण्डारण गरेर अन्य गैरघातक र लत्ताकपडा सहितका उपकरण बलम्बुस्थित छुट्टै घरमा राखिएको थियो।

गोदामघरमा ताला लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी खटिँदै आएका छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०८:४१
Weather Update