News Griha :: न्यूजगृह
सशस्त्र गोदाममा आगलागी: एआईजीको नेतृत्वमा छानविन समिति गठन

काठमाडौं— सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्।

सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो।

आगलागीबाट ठूलो धनराशीका सामानहरू जलेर नष्ट भएका छन्। कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ। घटनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालसहितका अधिकारीले समेत बलम्बु पुगेर घटनाका बारेमा जानकारी लिएका थिए।

मन्त्री लामिछानेले आन्तरिक छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन निर्देशन दिए लगत्तै महानिरीक्षक अर्यालले एआईजी दाहालको नेतृत्वमा समिति गठन गरेका हुन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि सशस्त्र प्रहरी बल मुख्यालय हलचोक परिसरमा रहेको गोदामघर भासिएपछि बलम्बुमा सारिएको थियो। अहिले हलचोकस्थित गोदाममा हातहतियार र गोलीगठ्ठा मात्रै भण्डारण गरेर अन्य गैरघातक र लत्ताकपडा सहितका उपकरण बलम्बुस्थित छुट्टै घरमा राखिएको थियो।

गोदाम घरमा ताला लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी खटिँदै आएका छन्। 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:५०
Weather Update