News Griha :: न्यूजगृह
सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति 

काठमाडौं — काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा सोमबार भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ। 

यसअघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो। गृहले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आकलन गरिएको छ। आगलागीबाट ठूलो धनराशीका सामानहरू जलेर नष्ट भएका छन्। कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ। घटनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालसहितका अधिकारीले समेत बलम्बु पुगेर घटनाका बारेमा जानकारी लिएका थिए।

२०७२ सालको विनाशकारी भूकम्पपछि सशस्त्र प्रहरी बल मुख्यालय हलचोक परिसरमा रहेको गोदामघर भासिएपछि बलम्बुमा सारिएको थियो। अहिले हलचोकस्थित गोदाममा हातहतियार र गोलीगठ्ठा मात्रै भण्डारण गरेर अन्य गैरघातक र लत्ताकपडा सहितका उपकरण बलम्बुस्थित छुट्टै घरमा राखिएको थियो।

गोदामघरमा ताला लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी खटिँदै आएका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:०८
Weather Update