News Griha :: न्यूजगृह
राष्ट्रिय सभा र रुसी महासंघको फेडेरेसन काउन्सिलबीच अन्तर संसद् समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं— राष्ट्रिय सभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलबीच बिहीबार अन्तर संसद् सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा  हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय सभा र फेडेरेसन काउन्सिलबीच भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तर्क्रियामार्फत अन्तर संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधि, संसदीय गतिविधिको डिजिटाइजेशन र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्रमा अन्तर व्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ । समझदारीपत्रमा  हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दुई सदनबीच भएको सम्झौता पारस्परिक सम्मान, मित्रता एवम् सहकार्यको जगमा स्थापित नेपाल–रुसबीचको सुमधुर सम्बन्धको बलियो प्रमाण भएको बताए ।

अध्यक्ष तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोबीच भेटवार्तामा नेपालले रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा नेपाल,  रसिया, चीन र भारत सम्मिलित मैत्रीपूर्ण बुद्धिचाल च्याम्पियनसिप प्रतियोगता आयोजना गर्न चाहेको तिमिल्सिनाले बताए ।

यस्तै अध्यक्ष तिमिल्सिनाले विगतमा रोकिएको नेपाल र रुस सीधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:३३
Weather Update