काठमाडौं— पशुपति आर्यघाटस्थित विद्युत शवदाह गृहमा आगामी साउन १ गतेदेखि कुनै शुल्क नलाग्ने भएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्।
त्यस्तै उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन्।
‘धार्मिक एवं सांस्कतिक अध्ययन अनुसन्धान’का लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो। सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ । दुवै निर्णय औपचारिक रुपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ,’ उनले भने ।
सदस्य सचिव डा. थापाले पशुपतिनाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने बताएका छन्। ‘३० वर्षसम्म नबोल्ने भगवानको सेवा गरेँ, तर बोल्ने भगवान कहाँ न्याय माग्न पुगेपछि न्याय पाएँ। सम्पूर्ण न्यायमुर्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्छु । र अब भगवान पशुपतिनाथको सेवामा अहोरात्र खटिनेछु,’ उनले भने।
हाल पशुपतिको विद्युतीय शवदाहगृहमा शव दाहका लागि ४ हजार ५ शुल्क लिइँदै आइएको छ।
पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव डा थापाले मंगलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गरेका हुन्।
विशेष अदालतले मंगलबार सदस्य सचिव डा थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०८० असोज १४ गते उनीहरु तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो।