News Griha :: न्यूजगृह
४ दिनपछि नियन्त्रणमा आयो सूर्यविनायकको जङ्गलमा लागेको डढेलो 
सांकेतिक तस्बिर

भक्तपुर— सूर्यविनायकस्थित जङ्गलमा लागेको डढेलो ४ दिनपछि नियन्त्रणमा आएको छ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो। चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए। 

जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको सापकोटाले बताए। धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उनले बताए। 

उनका अनुसार आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको छ। 

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौं र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताइन्। उनले भनिन्– ‘आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ।’ 

आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले संकलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिइन्। पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागीको घटना बढिरहेको छ। लामो समयदेखि पानी पर्न नसक्दा धेरै ठाउँमा  सुख्खापन बढेपछि आगलागीको जोखिम समेत बढिरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:०६
Prabhu BankPrabhu Bank
Weather Update