News Griha :: न्यूजगृह
गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

काठमाडौं— ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि बुधबार बिहान मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा बुधबार बिहान किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाइ नगरकोटीले जानकारी दिए।

उनका अनुसार पहरीको शव बर्न अस्पतालबाट पोस्टमार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ। नगरकोटीले भने, ‘मृतकका परिवारलाई नगरपालिका र वडा कार्यालयको बैठक बसेर उचित राहतको व्यवस्था गर्छौ।’

गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडो ललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए। शंकरको उपचारका क्रममा मंगलबार दिउँसो र रमेशको बुधबार बिहान मृत्यु भएको हो।

वनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ। नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन। 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०८:५६
Prabhu BankPrabhu Bank
Weather Update