News Griha :: न्यूजगृह
गुल्मीमा डढेलो लगाउने दुईजना पक्राउ, के हुन्छ सजाय? 

गुल्मी— गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। 

जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए। 

Prabhu Bank

उनीहरुलाई वन ऐन २०७६ मार्फत् आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ।

पक्राउ परेकालाई तीन वर्ष कैद र ६० हजार जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत  ठाकुरले बताए। आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरुले आगो लगाएको स्वीकार गरेका छन्। 

उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो। उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए। डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको जनाएको छ। 

हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ। डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।

जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहत र उद्दारको काम भइरहेको जनाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:३७
Weather Update