News Griha :: न्यूजगृह
खेलप्रेमी सुहाङको राजनीतिक यात्राः अधिवक्तादेखि सांसदसम्म 

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा नेता सुहाङ नेम्वाङको आजबाट संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। 

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका उनका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो। 

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बने । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९ सय ४२ मत प्राप्त गरे।

Prabhu Bank

सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा स्वर्गीय सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौंमा भएको थियो। काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए। त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किए।

स्वदेश फर्केर उनले ‘काठमाडौं स्कूल अफ ल’ बाट कानुन संकायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे। सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए। सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए। 

उनका बुबा सुवासको निधन हुनुभन्दा अघि सुहाङको लगाव राजनीतिभन्दा खेलकुदमा बढी थियो। स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थालेका थिए। 

आफू सहभागि हुने मात्र नभएर उनले खेलकुदको विकासका लागि विभिन्न पहल समेत गर्दै आइरहेका थिए। उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे। पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए।  फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका मानिन्छन्।

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाए। यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए। सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदान समेत गरेका थिएनन्। आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन्।  

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो। तर बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो। 

सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो। नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाए। 

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ। 

आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ। 

राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ। उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन्। 

समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षणलाई स्वदेशमै रोक्ने योजना आफूसँग रहेको सुहाङले बताउँदै आइरहेका छन्। सुहाङ एमालेको कानुन विभागको सदस्य रहेका छन्।  

इलाम–२ मा उपनिर्वाचनको चर्चा चल्दै गर्दा सुहाङसहित अन्य व्यक्तिहरुको नाम समेत चर्चामा रहेको थियो। तर अन्य उम्मेदवारहरुलाई मनाउँदै आफूलाई अघि बढाएका सुहाङको आगामी यात्रा कम चुनौतीपूर्ण भने छैन। उम्मेदवार बन्दै गर्दा वंशवादको आरोप खेपेका सुहाङले आफ्नो क्षमता प्रस्तुत गर्दै बुबा सुवासले राजनीतिमा पारेको छापलाई कसरी अगाल्नेछन् भन्ने कुरा नै उनको राजनीतिक सफलताको मानक हुनेछ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:४५
Weather Update