News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुहाङको पहिलो मत आफैँलाई !

काठमाडौं— इलाम-२ र बझाङ-१ (१)मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्। अहिलेसम्म उम्मेदवार घोषणा भएकामध्ये सर्वाधिक चर्चाका उम्मेदवार हुन एमालेका इलाम-२का उम्मेदवार सुहाङ नेम्वाङ। 

इलाम-२बाट निर्वाचत सुवास नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएपछि उनी तुलनात्मक रुपमा बढी चर्चामा छन्। 

इलाममा लामो समयदेखि राजनीति गरिरहेका, इलामको भूगोललाई राम्ररी चिनेका व्यक्तिलाई छाडेर पार्टीको केन्द्रीय कमिटीले परिवारवादलाई प्रोत्साहन गरेको भन्दै टिप्पणी पनि हुने गरेको छ। 

Prabhu Bank

जे भए पनि सुहाङले आफूलाई उम्मेदवार बनाएकामा सम्बद्ध सबैलाई धन्यवाद दिँदै आफू उत्साही र खुसी भएको बताएका छन्। उनले इलामेली जनताको पक्षमा काम गर्ने गरी आएको बताएका छन्। उनले बिगतमा चुनावी अभियानमा बुवासँगै आफूले पाएका सुझावलाई सम्बोधन गर्ने बताएका छन्। आफू उम्मेदवार बन्दा जीवनको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिएका सबैको भावनालाई शीरमा राखेर काम गर्ने बताएका छन्। 

यही बेला सुहाङको पहिलो मतदानको चर्चा चलेको छ। उनी २०७९ को निर्वाचनमा आफ्ना बुवाको चुनावी प्रचारमा डटेर खटेका थिए। 

निर्वाचनको अभियानमा खटे पनि उनले मतदान भने गरेनन्। स्थानीय तहको निर्वाचनमा भने सुहाङ इलाममा खासै देखिएका थिएनन्। 

नेम्वाङकै चुनावी अभियानमा सक्रिय सहभागी भएका एक एमाले नेताका अनुसार सुहाङले अहिले चर्चामा भएको जस्तै यसअघि मतदान नगरेको बताएका छन्। 

उनले भने, ‘मैले जानकारी लिएसम्म सुहाङले इलाममा आएर मतदान गरेका छैनन्। काठमाडौंतिरै मतदान गरे भने त्यो मलाई थाहा भएन्। तर इलाममा चाहिँ उनले मतदान गरेका छैनन्।’

अघिल्ला चुनावमा खासै सहभागिता नजनाएका सुहाङले आफ्ना बुवा सहभागी भएको अन्तिम निर्वाचनमा भने निक्कै सक्रियता जनाएका थिए। उनी बिहान सबेरैदेखि राति अबेरसम्म चुनावी अभियानमा बुवासँगै घटेको उनले बताए। 

‘निर्वाचन प्रचारका क्रममा निक्कै नै खटेका सुहाङले भोट हालेको जस्तो मलाई लागेन्। उनी प्रचारमा मात्र जुटे। त्यसैले मलाई पनि उनको इलामबाट हुने मतदान पहिलो नै हो जस्तो लाग्छ,’ उनले भने। 

सुहाङले ३० वर्षसम्म बुवालाई जिताउन लागिपरेका नेतालाई पछि पार्दै पार्टीको टिकट लिएका छन्। आफैं उम्मेदवार बनेपछि पहिलो पटक मताधिकार प्रयोग गर्ने भन्ने उनको आलोचना पनि हुने गरेको छ। 

एकाएक राजनीतिमा बुवाको विरासतकै छोराले अवसर पाएको भन्दै राजनीतिक वृत्तमा सुहाङबारे धेरै टिप्पणी पनि हुने गरेको छ। इलाममै राजनीतिक गरिरहेका सुहाङभन्दा अघिल्लो पुस्ताले पनि खुलेर विरोध नगरेपनि पार्टीले योगदान गर्नेलाई सम्मान नगरेको टिप्पणी गर्ने गरेका छन्। 

पछिल्लो समय इलाममा आफ्नो सक्रियता बढाउँदै गएका सुहाङलाई इलामले चिनेको त्यति धेरै भएको छैन। उनी बुवाको निधन भएपछि इलाममा आयोजित शोक सभाबाट इलाममा बढी चिनिएका हुन्। 

त्यसअघि पनि उनी इलामका खेलकुद गतिविधिमा सहभागिता जनाउँदै आएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:५१
sagarmatha cementsagarmatha cement
Weather Update