News Griha :: न्यूजगृह
सुहाङलाई उम्मेदवार बनाएपछि ओलीले भने- उनमा केही गर्ने हुटहुटी र ऊर्जा छ

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको बताएका छन्।

इलाम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमा लेख्दै ‘आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा’ रहेको बताएका हुन्।

ओलीले सुहाङसँगैको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गर्दै विजयको शुभकामना पनि दिएका छन्।

‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोस भएका युवाको रुपमा पाएको छु,’ ओलीले लेखेका छन्।

आइतबार बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेको हो

उनी एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका कान्छा छोरा हुन्। सुवास नेम्वाङको निधन भएपछि भदौ २५ गतेदेखि रिक्त इलाम–२ मा एमालेले सुहाङलाई उठाउने निर्णय गरेको छ।  

सुहाङ अधिवक्ता पनि हुन्। बुबाकै प्रेरणाले वकालती पेसा अपनाएका उनी वैशाख १५ गते तय भएको उपनिर्वाचनमा बुबाकै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भएका हुन्।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २२:०३
Weather Update