News Griha :: न्यूजगृह
आगलागीे नियन्त्रणमा राज्यका सबै तह जिम्मेवार बन्नुपर्छः प्रवक्ता सापकोटा 
फाइल तस्बिर

काठमाडौं— नेकपा माओवादी केन्द्रले आगलागी एवं डढेलो जस्तो चुनौतीपूर्ण अवस्थामा उद्धार र सुरक्षा जस्ता आधारभुत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै विपद्को घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भन्दै दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन पनि पालिकाहरुलाई अपिल गरेका छन्। 

‘यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभुत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ। विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौँ। यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौँ,’ विज्ञप्तीमा जारी भनिएको छ। 

त्यसैगरी विपद्जन्य अवस्थामा गर्नुपर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

यसका साथै, विपद् जोखिमहरूबारे जानकारी लिन, त्यस्ता विपद्का जोखिमहरू न्यूनीकरण गर्न तथा तिनको व्यवस्थापनका उपाहरुबारे सचेत रही आवश्यक परेका बेला अग्रसर हुन सबै नागरिकलाई पनि अनुरोध गरेका छन्। 

गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ, हजारौँ नागरिक पीडित हुन पुगेका छन्। 

त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर ‘लू’ चल्दा जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:०६
Weather Update