News Griha :: न्यूजगृह
प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने 

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा  उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् ।

शर्माको चीन भ्रमणको तयारीमा दुवै देशका सैनिक अधिकारीहरूसमेत जुटिसकेका छन् । स्रोतका अनुसार प्रधानसेनापति शर्मा आगामी जेठ दोस्रो साता (मेअन्तिममा) चीन भ्रमणमा जाने तयारी भइरहेको छ ।

‘चीन भ्रमणको लागि छलफल भइरहेको छ । केही दिनमै मिति तय हुन्छ । चिनियाँ पक्षसँगपनि हामी निरन्तर संवादमा छौं’, सैनिक स्रोतले भन्यो । 
स्रोतका अनुसार प्रधानसेनापतिको चीन भ्रमणका एजेन्डाबारेमा सैनिक मुख्यालयमा छलफल भइरहेको छ । प्रधानसेनापति शर्माको चीन भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार केही समझदारी गर्ने सम्भावनासमेत छ ।

नेपाली सेनाले चीनबाट करिब ६ अर्ब बराबरको सवारी साधन खरिद गर्ने निर्णय गरिसकेको छ । 

प्रधानसेनापतिको भ्रमणमा चीनले थप सैनिक सहयोग घोषणा गर्ने अपेक्षा छ । शर्माको भ्रमणमा ‘सगरमाथा फ्रेन्डसिप’ संयुक्त सैन्य अभ्यास सुचारु गर्नेबारेमासमेत छलफल हुने स्रोतले बतायो । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास २०७५ सालपछि भएको छैन ।

०७४ सालमा  नेपालमा भएको ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण ०७५ सालमा दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा भएको थियो । १२ दिनसम्म चलेको उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता थियो ।

संयुक्त सैन्य अभ्यास प्रतिआतङ्कवाद युद्धकला, विपद व्यवस्थापन लगायत विषयमा केन्द्रित हुन्छ । भारतीय सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको नेपाली सेनाले अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

बहुराष्ट्रिय अभ्यासका माध्यमबाट सैन्य कूटनीति तथा सम्बन्ध सुदृढ र मजबुत हुने सुरक्षा मामिलाका जानकारको भनाई छ । 
नेपाल र चीनबीच सैनिक तहमा २०४४ सालदेखि सहयोग आदान प्रदान हुँदै आएको छ । दुई देशबीच त्यसयता सेना प्रमुखको तहमा भ्रमण भइरहेको छ । यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीसमेत चीन भ्रमणमा गएका थिए । चीनबाट समेत प्रधानसेनापति र रक्षामन्त्रीको भ्रमण भएको थियो ।

चिनियाँ जनमुक्ति सेना नेपाली सेनाको अमलेखगञ्जस्थित जङ्गल वारफेयर र नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेजमा तालिमका लागि सहभागी हुने गरेका छन् । नेपाली सेनाका अधिकारीहरूले पनि चिनियाँ सेनासँग विभिन्न प्रकारका तालिममा बेइजिङ र नान्जिङमा सहभागिता जनाउँदै आएका छन् ।

प्रधानसेनापति शर्मालाई चिनियाँ समकक्षीले निमन्त्रणा दिएको लामो समय भएपनि कोरोना महामारीको कारण भ्रमण हुन सकेको थिएन । प्रधानसेनापतिमा बढुवा भएपछि शर्मा गत कात्तिकमा भारत र असारमा अमेरिका भ्रमणमा गए ।   

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:०१
Weather Update