News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्यो

काठमाडौं— मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन्। पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ।

मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन्।  मानव बेचबिखनको सबैभन्दा बढि जोखिम भएको जिल्लामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताइन्।  

‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संस्थाले काठमाडौं महानगर, भैरहवा र पोखरा महानगरसँग मिलेर तीनवटै जिल्लामा प्रत्येक तीन÷तीन महिनामा अनुगमन र मूल्यांकनको कार्य संयुक्त रुपमा गरिरहेका जानकारी दिइन्। 

Prabhu Bank

उनले भनिन्, ‘जुन जिल्लाहरुमा मानव बेचबिखनको धेरै जोखिम हुन्छ। त्यस्तो जिल्लाहरुमा गएर जनचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छौं। अनुगमन र मूल्यांकन पनि गर्ने गरेका छौं। प्रत्येक तीन तीन महिनामा अनुगमनको कार्य गरिरहेका छौँ। मनोरञ्जन क्षेत्रहरुमा गएर प्रत्यक्ष रुपमा अनुगमन गर्ने समस्याहरु के के छन् भनेर बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर छलफल पनि गर्ने गरेका छौँ।’ 

उनले शुभ अवसर ग्राम नेपाल महिला तथा बालबालिको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको जानकारी दिइन्। 

यस्तै, कार्यक्रममा सहभागी विकास ढुङ्गानाले मनोरञ्जनको आडमा शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको भन्दै यसबारेमा बृहत छलफल आवश्यक रहेको बताए। 

उनले भने, ‘मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय साना बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको छ। नाबालिकहरुको संख्या बढ्दै गएको परिवेश देखिरहेका छौं। काम गरेपनि उचित मूल्यांकन नहुनु जस्ता समस्याहरु पनि भोग्नु परेको छ। यसको साथै शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको देखिन्छ। यो अवस्थामा सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुन्छ।  मनोरञ्जन क्षेत्रसँग जोडिएर आन्तरिक बेचबिखनको कुरा पनि बढ्दो क्रममा छ ।’

यस्तै, वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखन र मनोरञ्जन क्षेत्रको अन्तर सम्बन्धले यो समस्यालाई बढावा दिएको भन्दै समस्यालाई छलफल गरेर साझा बुझाई बनाउनुपर्ने बताए । 

सुरक्षित रुपमा श्रम गर्ने अधिकार संविधानले दिएको भन्दै कार्यक्रममा सहभागी सरोकारवालाहरुले महिला, बालबालिका र शोषण विरुद्धको अधिकारलाई मौलिक अधिकारकै रुपमा व्यवस्थित गर्दै सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गरेको जानकारी गराए। डान्सबार, मसाज पार्लरहरुले धेरैलाई रोजगारी दिएपनि उनीहरुको व्यवस्थापन चुनौतिपूर्ण रहेको औँल्याए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:०७
Weather Update