News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
धनुषामा प्रहरी र स्थानीयबीच झडप, ९ राउण्ड अश्रुग्यास प्रहार 

काठमाडौं— धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ। धनुषाको औहरी गाउँपालिका—१ स्थित पौडेसर भन्ने स्थानमा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रन्जन अवाले न्यूजगृहलाई जानकारी दिए। 

युवायुवती आफूखुसि भागेपछि केटीका आफन्तले अवरोध सिर्जना गरेपछि झडप भएको उनले बताए। 

Prabhu Bank

उनका अनुसार सोही स्थानका एक युवा र युवती केही दिनदेखि बेपत्ता छन्। केटी पक्षका परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तर अझै केटाकेटीको अवस्था अज्ञात रहेको उनले बताए। 

बिहीबार बिहान केटीका आफन्तहरुले पौडेसर चोकमा टायर बालेर बाटो जाम गराए। सो क्रममा प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो। तर निरन्तर उनीहरुले बाटो बन्द गर्न थालेपछि त्यहाँ पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार भएको थियो। अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले ९ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको अवाले बताए। 

‘स्थानीयले पटकपटक अवरोध गरेपछि हटाउन गएका प्रहरीमाथि नै ढुंगामुढा भएपछि बल प्रयोग गरेका हौँ, ३ प्रहरी घाइते छन्, अहिले अवस्था सामान्य छ,’ उनले घटनाको विवरण दिँदै भने।  

सो क्रममा स्थानीको ढुंगा लागेर ३ प्रहरी घाइते भएका छन्, भने केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अहिले अवस्था सामान्य भएको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:०९
Weather Update