
काठमाडौं— गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। पौडेलिवरुद्धको मुद्दामा बुधबार विशेष अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो।
पौडेलविरुद्ध अख्तियारले वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका लागि कारागारमा राख्न आदेश दिएको अख्तियारका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
अदालतको आदेशपछि पौडेललाई बुधबारै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । उनलाई विशेष अदालतले पेमेन्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा गत शुक्रबार नै दोषी ठहर गरिसकेको छ । उनीविरुद्ध सरकारको अनुमति बिनानै सिङ्गापुरमा डलर खाता खोलेको र घुसबापतको आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
अख्तियारका सूचना अधिकारी रेग्मीले अदालतबाट प्रतिवादीका हकमा उपलब्ध तथ्य र प्रमाणलाई आधार मानी मुद्दाको किनारा नलागेसम्म कारागार चलान गर्न आदेश भएको बताए । उनलाई हिरासतमुक्त गर्दा विदेशी बैंकमा रहेको मुद्रा चलखेल गरी थप दुरुपयोग गर्न सक्ने समेतलाई आधार मानेर अदालतले थुनामा पठाएको हो ।













