News Griha :: न्यूजगृह
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
प्रतीकात्मक तस्बिर

महोत्तरी— महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्। गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन्। 

अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ। चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन्। 

बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताए। पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जङ्गलमा डढेलो बढेको उनले जानकारी दिए। 

‘बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ। त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन’, लामा भन्छन्, ‘राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ।’

वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ। ‘वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतंक बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ। अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्’, काफ्लेले गुनासो गरे। 

गौशाला नगरपालिका–८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले वर्षेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति पुर्‍याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्छन्। 

डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:१७
Weather Update