News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल र कतारबीच के-के मा भयो समझदारी? 

काठमाडौं— नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।  

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि समझदारी भएको हो। 

नेपाल र कतारका प्रतिनिधिमण्डलबीच ६ वटा सरकारी स्तरका र २ वटा निजी क्षेत्रसँग सम्बन्धित समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

Prabhu Bank

कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको हो।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेशराज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका हुन्। 

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका हुन्। 

के-के मा भयो समझदारी?  

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी

२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

३. नेपाल सरकार तथा कतार सरकारका बीचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी

४. नेपाल सरकार तथा कतार सरकारका बीचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बीचमा सहकार्यको समझदारी

६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बीचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बीचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बीचमा समझदारी पत्रको नवीकरण

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:३६
Weather Update