
काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्माले सकलदर्जालाई सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताएका छन् ।
नेपाली सेनाले आयोजना गरेको सैनिक आचारसंहिता कार्यक्रम समापन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै शर्माले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका हुन् । ‘हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो,’ उनले भने ।
प्रधानसेनापतिले सङ्गठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरुप सङ्गठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।
कार्यक्रमा सैनिक मूल्यमान्यता, परम्परा र शिष्टाचार, सामाजिक सञ्जालको प्रयोग, भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार एवम् बजेटलगायतका विषयमा सकल दर्जालाई ज्ञान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा सेनाका शिक्षक र शिक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता, भर्ना छनोट, लैङ्गिक आचरण तथा उपहारसम्बन्धी आचारसंहितामा विषय विज्ञबाट ज्ञानवर्द्धक प्रस्तुति भएको थियो ।
नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।