News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रधानमन्त्रीसँग माडीबासीको गुनासोः तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौं— चितवनको माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन्। 

सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरबासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन्। सो क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराए। उनले भने, ‘चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ।’

Prabhu Bank

लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भने, ‘तपाईं चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो। विकासका काम सुरू भएका थिए। अहिले लथालिङ्ग छ। तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो।’

उनका अनुसार विद्युत प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन्। ‘जसका कारण सडक धुलाम्मे छ’, नगरप्रमुख महतोले भने, ‘यसलाई तत्काल समाधान गरौँ।’

सो क्रममा माडीबासीका गुनासा सुनेपछि प्रधानमन्त्री दाहालले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिए। उनले भने, ‘माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत प्राधिकरण गम्भीर हुनुपर्‍यो।’ 

जनताको हितलाई सर्वोपरी राखेर काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भने, ‘मुख्य कुरा जनताको हित हो। जनतालाई सास्ती दिएर निकुञ्ज संरक्षण हुँदैन। जनताको भावना सम्बोधन गरेर मात्र पर्यावरण संरक्षण सम्भव हुन्छ।’ 

प्रधानमन्त्री दाहालले यस विषयमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिए। उनले भने, ‘विकासका काममा सबैले आआफ्ना स्थानबाट सहजीकरण गरौँ।’

छलफलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्वसांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी रहेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:३६
Weather Update