News Griha :: न्यूजगृह
भजनी नगरपालिकाका स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक

कैलाली— कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएका हुन् ।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरीले स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताए । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्,‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’

सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा एक करोड ९२ लाख रुपैयाँ र दोस्रो किस्तामा ४२ लाख रुपैयाँ पठाएको थियो । चालु आवमा एक करोड ४२ लाख रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए । ‘स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन,’ उनले भने ।

नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । ‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ’,नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।’

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०८:४१
Weather Update