News Griha :: न्यूजगृह
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै, प्रधानमन्त्री पुग्दै

काठमाडौं—  मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साढे १२ बजे सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ। मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो। १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइ लगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो। नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ। सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेट मै धादिङको सिस्ने खोला पुगिनेछ। मुख्य सुरुङ २.६८८ किमि र आपतकालीन सुरुङको दूरी २.५५७ किमि छ। आपतकालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ। 

काठमाडौं उपत्यका प्रवेश विन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायु प्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:२३
Weather Update