
काठमाडौं— रौतहट प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार पत्रकार सम्मेलन गरि रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो।
अपराध क्षेत्रको मास्टरमाइन्ड व्यक्तिको रुपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक रहेको नेपालभारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो।
२०८० जेठ ११ गते मध्यराति देवाही गोनाही नगरपालिका- १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ।
शेख शेराज र भारतीय नागरिक राकेश कुमार पुर्पक्षका लागि कारागारमा छन्। मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार रहँदै आएका थिए।
वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो।
२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानी भएको हत्यामा समेत उनी मुछिएका छन्।