
काठमाडौं — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। लक्ष्मणकिशोरले नाउपासहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्।
एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भने अब सांसदहरूको सनाखत गरेर निर्णय लिने भएका छन्। उनले मङ्गलवार सांसदहरूको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यले स्रोतले जनाएको छ।
यो पनि पढ्नुहोस- सुदूरपश्चिम: नाउपाबाटै मुख्यमन्त्रीमा २ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयमा रञ्जिता
साथै एकै पार्टीका दुई सांसदले फरकफरक दाबी पेस गरेकोले उनले कानुनी परामर्श पछि मात्रै निर्णय गर्ने बताएका छन्।लक्ष्मणकिशोरले पेस गरेको दाबीमा १८ जना नेपाली कांग्रेसका, ४ जना एकीकृत समाजवादीका, ५ जना नागरिक उन्मुक्तिका र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ।
त्यस्तै कैलाश चौधरीले एमालेका १० जना, माओवादी केन्द्रका १० जना, नाउपाका २ जना, एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र एक जनाको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका छन् ।
यो पनि पढ्नुहोस- नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुनर्बहाली