
काठमाडौं — सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली स्याङ्बोचे पुगेको छ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीयसँग अन्तरक्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ। पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ।
सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु, धवलागिरी लगायतका ६ वटा हिमाल सफा गर्न लागेको छ। यस अभियान अन्तर्गत करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ।
यस अघि गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले क्याम्पेन लिडर सेनानी आदित्य कार्कीलाई क्याम्पेन फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए।