News Griha :: न्यूजगृह
नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला मौसम?

काठमाडौं— पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान कोशी, बागमती र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया आंशिकदेखि सफा छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्का वर्षाको सम्भावना छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:२७
Weather Update