काठमाडौं— काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताएका छन्।
मित्रनगर विकास तथा सुधार समितिले शुक्रबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा उनले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताएका हुन्।
'देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ सै घण्टा सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ,' उनले भने। उनले बजार २४ सै घण्टा खुलाउँदा स्थानीयलाई असर पर्न नहुने उल्लेख गरे।
वडाध्यक्ष तिवारीले अबको दुई महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने उल्लेख पनि बताए। काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्दछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सकेमात्र नयाँबसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताए।
'रातको समयमा नयाँ बसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ,' उनले भने।