काठमाडौं— बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा व्यक्तिहरू हराउने गरेका छन्। घरपरिवारबाट अचानक सम्पर्कविहीन हुने गरेका छन्। जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन्।
आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा सबैलाई दुःख लाग्छ। यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झन्छन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुङ्गेअड्डामा प्रहरीले फेला पार्यो।
उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो। यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो।
तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो। यसैगरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन्। प्रहरीले खोजी गर्ने क्रममा क्षीरेश्वरनाथमा फेला पार्न सफल भयो। यी त प्रतिनिधि घटना मात्र हुन्। चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन्।
ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना ज्येष्ठ नागरिक छन्। फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन्। सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए।
हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला छन्। हराएका मानिसहरूको खोजी तथा उद्धारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ। पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ।
मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ। केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल भन्छन, ‘अन्जान वा लापरवाहीले अप्ठ्यारोमा परेकाको खोजी तथा उद्धार गर्नु मानवीय कार्य हो। नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी सङ्गठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिव्रता अपनाएको छ। खोजी मात्रै होइन मानिस के कारण हराउँछन्? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुनः घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ।’
हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले वेबसाइटको व्यवस्था गरेको छ। वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ। आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन्। ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन्। सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए। हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन्। तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ।
हराएका व्यक्ति खोजी गर्न नेपालभर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन्। जङ्गलमा हराएका लाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ। भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ। लोकेसन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ।
खतराको अवस्थालाई आकलन गरी सुरक्षा अपनाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी भन्छन् ‘हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ। सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ। प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारुकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन्।’