डोल्पा— त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन बालकमध्ये एकजनाको मृत्यु भएको छ।
जिल्ला अस्पतालमा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान च्याउ टिप्न गएका बालक अपराह्न गम्भीर घाइते भएका हुन्। उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल पुर्याइएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताए।
त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौं लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए।
गत मङ्गलबार डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो।
यो पनि पढ्नुहोस : डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते, थप उपचारका लागि काठमाडौं ल्याउन समस्या