News Griha :: न्यूजगृह
सरकारले खुला गर्‍यो जग्गाको कित्ताकाट  

काठमाडौं— सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्मालेले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली–२०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

प्रवक्ता शर्माले भनिन्, ‘भू–उपयोग पहिलो संशोधन नियमावली–२०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली–२०७९ स्वीकृति गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय पनि खारेज गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रा.लि.लाई राष्ट्रिय परिचयपत्रका विवरण रुजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १९:४४
Weather Update