News Griha :: न्यूजगृह
डोल्पा आगलागीमा घाइते थप २ सैनिकको मृत्यु

काठमाडौं — डोल्पामा भएको आगलागीमा परि घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ। उनीहरूको मंगलबार दिउँसो किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्घामगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशिष बुढा छन्। यो सँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ।

सोमबार जुम्लाको तातोपानी गाउँपालिका ४ का २४ वर्षका सेनाका सिपाही हेमन्त रावतको मृत्यु भएको थियो। ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए।

घाइते १ जना सेनाको किर्तिपुरमा उपचार भइरहेको छ।

वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो। हावाहुरीका कारण सोमबार दिउँसो फेरि डढेलो सुरु भएको थियो। डढेलो निभाउने क्रममा ४ जना घाइते भएका थिए। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:११
Weather Update