News Griha :: न्यूजगृह
डोल्पामा सेनाका ४ जवान जलेर घाइते, तीनको अवस्था गम्भीर  
फाइल तस्बिर।

काठमाडौं— डोल्पा सदरमुकाम दुनैमा नेपाली सेनाको ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा ४ जना जवान घाइते भएका छन्। 

सेनाको असावधानीका कारण लागेको आगो आइतबारदेखि एउटा सामुदायिक वनमा फैलिएको थियो। डढेलोका कारण उक्त वनमा पनि ठूलो क्षति भएको छ। सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण ‘क’ भदालेका सैनिक जवानहरूले ब्यारेक क्षेत्रको फोहोर व्यवस्थापन गर्न लगाएको आगो सामुदायिक वनमा फैलिएको थियो।

उक्त आगो निभाउने क्रममा सेनाका चारजना जवान जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘सेनाका जवान जलेर घाइते भएको सूचना आएपछि हामी घटनास्थलमा पुगेका छौँ,’ प्रहरी स्रोतले भन्यो, ‘विस्तृत विवरण संकलन गरिरहेका छौँ।’

प्रहरीका अनुसार डढेलो निभाउने क्रममा जलेर घाइते चारमध्ये तीन सैनिकको अवस्था गम्भीर छ। एकजनालाई मध्यमस्तरको चोट छ। घाइते चारैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाइएको प्रहरीले जानकारी दिएको छ। 

आइतबार दिउँसो सेनाले ब्यारेक सफाइ गर्ने क्रममा आगो लागेको थियो। उक्त आगो ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा भवानी सामुदायिक वनमा फैलिएको थियो।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:५५
Weather Update