News Griha :: न्यूजगृह
आगो निभाउँदा जलेर गम्भीर घाइते भएका एक सैनिकको मृत्यु

काठमाडौं— डोल्पामा मस्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका सैनिकमध्ये एकजनाको मृत्यु भएको छ। 

उपचारका लागि काठमाडौं रेफरको तयारीमा रहेका सैनिकको डोल्पा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका– ४ का २८ वर्षीय जवान हेमन्त रावत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको अवस्थामै सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसहित ३० वर्षीय प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर र २३ वर्षीय जवान आशिष बुढा घाइते भएका थिए।

जिल्लाको ठूलीभेरी नगरपालिका– ३ मा रहेको मस्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका चारजना सेना घाइते भएका थिए।

आगोमा परी घाइते भएकामध्ये दुईजनालाई सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर नेपालगञ्ज लगिएको थियो। थप २ जनालाई काठमाडौं ल्याउने तयारी थियो तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।

डोल्पा जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले घाइतेहरू करिब ७० प्रतिशत जलेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको जानकारी दिएका थिए। जलनका कारण गम्भीर घाइते भएकाले डोल्पामा उपचार सम्भव नहुँदा दुईजनालाई तत्काल नेपालगन्ज रेफर गरेको र थप दुईजनालाई काठमाडौं लैजान हेलिकोप्टर कुरिरहेको डा. उपाध्यायले बताएका थिए।

जङ्गलमा आगलागी भने आइतबार दिउँसोदेखि लागेको थियो। सोमबार अत्यधिक हावाहुरीका कारण डढेलो नियन्त्रणभन्दा बाहिर गएको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:४३
Weather Update