News Griha :: न्यूजगृह
आगो निभाउने क्रममा घाइते भएका सैनिकको हेलिकप्टरबाट उद्धार 
फाइल तस्बिर।

काठमाडौं— डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका नेपाली सेनाका चार जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

ठूलीभेरी नगरपालिका–४ मा पर्ने मस्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो सोमबार पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक घाइते भएका थिए।

घाइते हुनेमा ३० वर्षीय प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम शार्दूल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिए। 

आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए। दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए। पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको छ। दुई जनाको उद्धारका लागि हेलिकप्टर मगाइएको छ।

आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका सैनिक पोलिएको सेनाले जनाएको छ। आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो।

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २१:००
Weather Update