News Griha :: न्यूजगृह
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएकोमा आपत्ति

काठमाडौं— राष्ट्रिय कथाव्यास समिति नेपालले भारतको विश्वेश्वर मन्दिरका लागि लेखिएको श्लोकको प्रयोग गरी गुरु अस्त भएका बेला पशुपति क्षेत्रमा महायज्ञ गर्न लागिएकामा आपत्ति जनाएको छ ।

हिमवत्खण्डको सुन्दर फूलबारी नेपालमा सनातनधर्मको निरन्तररूपमा परिपालना गर्ने दैवी यज्ञभूमि, तपस्थली भए पनि यसको अस्तित्व मेटाउने उद्देश्यले यस्ता कर्म हुन लागेको भनी समितिले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।

सबै शिवलायलाई विश्वेश्वर मान्ने शास्त्रीय वचन नरहेको समितिको ठहर छ । सनातन प्रेमी मानव एवम् सन्तमहन्तलगायत विशिष्ट व्यक्ति नेपाल आई आफूलाई पुनः आध्यात्मिक ऊर्जा नवीकरण गर्ने परम्परामा यसले असर गर्ने समितिका अध्यक्ष नवराज घिमिरेले बताए ।

बेलाबेलामा भारत, भूटान, म्यानमार आदिका हिन्दु सनातनी समुदाय बसोबास गर्ने र विदेशबाट पनि शुभ मुहूर्तमा यज्ञअनुष्ठान कार्य सम्पन्न गर्न नेपाल आउने गरेका छन् ।

नेपालमा गुरुशुक्र अस्त, मलमास, क्षयमास, विश्वघस्रपक्ष, पितृपक्ष, ग्रहउदयास्तको बालवृद्धत्व आदिको ख्यालै नगरी गायत्री पुरश्चरण, सप्ताह, नवाह, विभिन्न विधाका शतचण्डी आदिका नाममा कुमुहूर्तमा यज्ञ अनुष्ठान सम्पादन गर्ने निन्दित परम्परा सुरु भएकाले यसविरुद्ध आवाज उठाउनुपरेको उनले बताए ।

केही व्यक्तिको जानाजानको उद्दण्डताले कथाव्यासको मानमर्दन तथा वैदिक आचार्यले पलपलमा अपमान सहनुपरेको समितिले जनाएको छ ।

‘विभिन्न सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा अपवादमा श्रीकाशी विश्वनाथको निश्चित परिसरलाई लिएको श्लोकको अपव्याख्या गरी परिस्थितिजन्य अनुकूल बनाउन ‘सबै नेपाल भारतआदिका शिवालयमा यज्ञानुष्ठान गर्न हुन्छ’, भन्नु सामान्य संस्कृतको अर्थबोध पनि नभएको प्रमाणित हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

विश्वनाथ मन्दिरको परिसरबाहेक द्वादश ज्योतिर्लिङ्गका परिसरमा गुरु, शुक्र अस्तलगायत अशुद्ध समयमा यज्ञ गर्नु नहुने अध्यक्ष घिमिरे बताउँछन् । शास्त्रवचन अनुसार मलमास, गुरुशुक्रास्त र यिनको बाल्य एवम् वृद्धत्वलाई समानरूपमा निषेध गरेको छ ।

pashupati-131679717656.jpg

जसरी देशवासीले गरेको जघन्य अपराधको फल राज्यले भोग्नु पर्दछ त्यस्तै यजमानले गरेको अपराधको फल पुरोहितले, पत्नीले गरेको अपराधको फल पतिले र शिष्यले गरेको अपराधको फल गुरुले भोग्न पर्दछ भन्ने शास्त्रवचनअनुसार व्यक्ति विशेषभन्दा पनि समग्र राष्ट्र देशवासी नै कुमुहूर्तमा गरिएका सत्कार्यले नष्ट हुने अवस्था सिर्जना हुन जाने उनी बताउँछन् ।

समितिले सनातन धर्मप्रेमीमा यसप्रकारका भ्रमले अस्तमा पनि काम्य अनुष्ठान शिवालय आदिमा विभिन्न उद्देश्य राखेर प्रयोजन सिद्ध गर्नका लागि कुमुहूर्तमा गर्न हुन्छ भनी छरेको भ्रमलाई निराकरण गर्दै सप्ताह, नवाह, शतचण्डी, सहस्रचण्डी, गायत्री पुरश्चरण, लक्षहोम, कोटिहोम, विवाह, व्रतबन्ध, शिलान्यास, गृहप्रवेश आदि विशेष अनुष्ठान नगर्नु नगराउनुहुन समितिले आह्वान गरेको छ ।

 २०८० साल १८ वैशाखभित्र आयोजना गर्न लागिएका अनुष्ठान शास्त्रीय मर्यादामा रही १९ वैशाखपछि शुभमुहूर्तमा गर्न गराउन हुन पनि यो समितिले अपिल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:५५
Weather Update