News Griha :: न्यूजगृह
रविका निजी चालकलाई थप उपचार गर्न हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

सभापति लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो । ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन् ।

सोमबार थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो । तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ ।   

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:२६
Weather Update