गायक निशान र मोडल ऋचाले गरे सम्बन्धविच्छेद
काठमाडौं — गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ। काभ्रे जिल्ला अदालतले सम्बन्धविच्छेदको आदेश दिएको हो।
‘उहाँहरू दुवै (निशान भट्टराई र ऋचा न्यौपाने)ले दिनुभएको संयुक्त निवेदनमा चैत ७ गते अदालतले सम्बन्धविच्छेदको आदेश दिएको हो,’ काभ्रे जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले भनिन्।
तीन वर्ष अगाडि निशान र ऋचाबीच विवाह भएको थियो। उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो।
निशान नेपाल आइडलको पहिलो सिजनको फर्स्ट रनरअप हुन्। ऋचा मोडलिङ गर्दै आएकी छन्।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १५:५६