News Griha :: न्यूजगृह
सुनसरीमा पुनः प्रदर्शन चर्कियो, डीएसपीसहित ९ प्रहरी घाइते, प्रदर्शनकारीले पेस्तोल लुटे

सुनसरी — सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। 

अपराह्न हरिनगरमा प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउन्ड हवाइ फायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका छन्। त्यस क्रममा प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीसहित ९ जना घाइते भएको सुनसरी प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए।

सुनसरीमा दुई समुदाय नै झडपमा उत्रनु पर्ने स्थिति कसरी सिर्जना भयो? 

नेतृत्वविहीन रहेका प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका छन्। प्रहरीको साथबाट ७ राउन्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको छ। प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गरेका प्रहरीले जनाएको छ।

प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको आचार्यले जानकारी दिए।

हिन्दु–मुस्लिम युवाहरूको झडपले सुनसरी अशान्त

उनका अनुसार अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ। प्रशासनले अन्य पालिकामा भने आंशिक रुपमा कर्फ्यु लागू हुने जनाएको छ। प्रजिअ आचार्यका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४, ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केही खुकुलो बनाएको छ। यी क्षेत्रमा सोमबार बिहान १० बजेसम्म आंशिक रुपमा कर्फ्यु लागू हुने प्रजिअ आचार्यले जानकारी दिए। 

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरनासन्न हुनेगरि कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो। दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्कन नदिन र नागरिक जीउधनको सुरक्षाका लागि बिहीबारदेखि कर्फ्यु लगाइएको हो।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:३१
Weather Update