News Griha :: न्यूजगृह
हिन्दु–मुस्लिम युवाहरूको झडपले सुनसरी अशान्त

सुनसरी — हिन्दु र मुस्लिम समुदायका युवाहरूको झडपले उग्ररूप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ।

दुवै पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने स्थिति सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन सुनसरी प्रहरीले ५१ राउण्ड बढी हवाई फायर गरेको छ। 

कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधाज्ञाका बावजुत भीड नियन्त्रणमा आउन नसकेको बताए। यद्यपि, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको उनको भनाई छ। 

भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका आरोप छ।  घाइते जीवन मेहता धरानमा उपचाररत छन्। कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा बिहानैबाट प्रदर्शन चर्काएका थिए। 

यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ। 

कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखको संयुक्त बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:२५
Weather Update