सुनसरी — हरिनगर गाँउपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि स्थिति सामान्य बन्न सकेको छैन। हरिनगरको भुटाह बजार बिहानैबाट तनावग्रस्त छ।
शुक्रबार मध्यान्ह १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रण बाहिर जाने देखेपछि स्थानीय प्रशासनले शुक्रबार ५ बजेदेखि इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा अनिश्चित कालका लागि कर्फ्यु जारी गरेको छ।
स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढाले आक्रमण गरेका छन्। झडपमा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते छन्। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईका अनुसार घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदाय बीचमा तनाव बढेको हो। दुवै समूहका स्थानीहरू झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सिर्जना भएको हो।
बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो। मेहतामाथि कुटपिट भएपछि दुवै समूहका बीचमा झडप भएको थियो।बिहीबार भएको झडपमा दुई प्रहरीसहित एक जना स्थानीय घाइते भएका थिए। स्थिति थप बिग्रन नदिन सो क्षेत्रमा निषेधाज्ञा जारी गरिए पनि अवस्था सामान्य बन्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
प्रशासनले शुक्रबार मध्यान्ह १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। बिहीबारको आक्रमणबाट घाइते भएका हरिनगर गाउँपालिका ३ का जीवन मेहताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।