महोत्तरी — सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।
मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन्। मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार निःशुल्क चुल्हो वितरण गरिएको हो।
‘हमरोसबके सुखके दिन आयल, आब सबदिन गोबरक पथरीके धुवाँमे नइ कान परत (हाम्रा पनि सुखका दिन आएछन्, अब सब दिन गोबरको पथरी, गुइँठाको धुँवामा रुनु परोइन),’ मटिहानी–९ सिमरदहीकी अति विपन्न डोम समुदायकी पुनमदेवी मररले भनिन्।
पुनमजस्तै मटिहानी–१ धिरापुरकी फूलोदेवी मण्डल, मटिहानी–६ की सजिरा खातुन र मटिहानी–८ की अनिता महराले पनि अब पानी पर्दा, अपर्झट पाहुना आउँदा राहत मिल्ने आश गरे।
‘बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला),’ सजिरा खातुनले भनिन्।
मटिहानी नगरपालिकाका नौवटै वडाका अतिविपन्न दुई हजार परिवारले ग्यास चुल्हो पाएका छन्।