News Griha :: न्यूजगृह
डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर, २ वर्ष कैद हुने

काठमाडौं— इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाएको हो। अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला गरेको छ।

बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद र सुन बरामद गरेको थियो। अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैसँग राखेको अख्तियारको भनाइ थियो। त्यसक्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको छ।

केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:०४
Weather Update