News Griha :: न्यूजगृह
बुटवलका तत्कालीन डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका—५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारका अनुसार केसीले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए । त्यस क्रममा उनले २ जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको छ ।

अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दिएको प्रवक्ता दाहालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी. उपर बिगो रु. १८,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१३ गते।

ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी.ले जिल्ला रुपन्देही, बुटवल उप-महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेको सूचनाको आधारमा निज प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी.को निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको सम्बन्धमा छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्र/प्रतिवेदन/उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा इलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी.ले मिति २०७९।०८।२५ गते बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस रिसवत लिने/खाने नियतले १५ दिनसम्म आफैसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुस/रिसवतको मोलमोलाई गरी नगद रु.८,५०,०००।- (आठ लाख पचास हजार रुपैयाँ) नगद र रु.९,५०,०००।- (नौ लाख पचास हजार रुपैयाँ) को चेकसमेत गरी जम्मा रु.१८,००,०००।- (अठार लाख रुपैयाँ) घुस/रिसवत लिई लिन लगाई उक्त सुन अन्य व्यक्तिमार्फत फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको हुँदा निज ठग बहादुर के.सी.ले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.१८,००,०००।–(अठार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:५६
Weather Update