काठमाडौं— हत्या घटनामा संलग्न भएको आरोपमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर छन्। वडा सदस्य थापा मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडिबुटीबाट आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका वडा सदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गत असार २० मा दोरम्बा सल्लेनी भीरमा ४१ वर्षीय रामेछापकै गणेश पाठकको शव भेटिएको थियो। शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
पीडित पक्षले दोरम्बा शैलुङ गाउँपालिका–५ का रुजन श्रेष्ठ, रुद्रबहादुर नगरकोटी, हिराबहादुर श्रेष्ठ र शैलुङ–३ का प्रकाश कँडेल र वडा सदस्य लालबहादुर थापा मगर विरुद्ध किटानी जाहेरी दिएका थिए।
जाहेरी परेपछि फरार रहँदै आएका थापा मगरलाई प्रहरी ९ महिनापछि पक्राउ गरेको हो।