News Griha :: न्यूजगृह
पेट्रोलको मूल्य बढ्यो

काठमाडौं— नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य भने घटाएर पठाएको छ।

डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। तर निगमलाई ग्यासमा अझै पनि २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको मूल्य यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य पनि यथावत छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७४ रुपैयाँ प्रतिलिटर पर्नेछ।  

तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर पर्नेछ। 

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आईओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किने बापत् आईओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आईओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आईओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ। 

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरे बापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।

यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ। यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आईओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:४५
Weather Update