रुखले च्यापिएर डोटीमा बालकको मृत्यु
डोटी— डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ।
सायल गाउँपालिका- २ खरगडाका मदनबोहराका १४ वर्षीय छोरा तिलकको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए।
उनका अनुसार सायल गाउँपालिका- ५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रूख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए।
घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेका हुन्।
घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० २१:५०