
काठमाडौं— काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ। शनिबार साँझसम्म काठमाडौंको मौसम सफा थियो।
केहीबेरअघिबाट मात्र काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित वर्षा भएको हो।
काठमाडौंमा अझै करिब एक घण्टाजति वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
'एक घण्टाजति वर्षा हुने देखिन्छ। तर, निरन्तर नहुन सक्छ। कमजोर हुन्छ,' उनले भने, 'मध्यम वर्षा हुनसक्छ। हल्का हावाहुरीसहित वर्षा भएको छ। यो सर्दै पूर्वतिर जाने देखिन्छ।'
कर्णाली प्रदेशमा भने दिउँसो नै मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानी परेको थियो।
चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ। न्यूनचापीय वायुको प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबारदेखि मौसम क्रमशः सुधार हुने मौसम पूर्वानुमान छ। न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मौसममा सुधार आउने पूर्वानुमान छ।













