News Griha :: न्यूजगृह
कर्णालीमा चट्याङ र हावाहुरीसहित भीषण असिना पानी, क्षतिको विवरण आउँन बाँकी

सुर्खेत शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ। विशेषगरि सुर्खेतमा ठुलो मात्रामा असिना परेको हो।

हावाहुरी र असिना पानीले विशेषगरि गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ। भित्राउन लागेको गहुँ बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानहरू भने चिन्तित बनेका छन्।

असिना सुर्खेतको वीरेन्द्रनगरमा विगत चार पाँच वर्षयताको सबैभन्दा धेरै परेको स्थानीयले बताएका छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा भइरहेको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए।

जाजरकोटको बारेकोटमा भूकम्प पीडितका अस्थायी टहरादेखि गाउँपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य शाखा रहेको भवन र प्रहरी चौकीको छानो हावाले उडाएको जाजरकोट प्रहरीले जनाएको छ।

यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९, मा रहेको इलाका प्रहरी कार्यालयको जस्तापाताले छाएको भान्सा घरमा क्षति पुगेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

उक्त प्रहरी चौकीको जस्तापाता हावाले उडाएको सूचना अधिकारी धर्मेन्द्र खड्काले बताए। प्रदेश प्रहरी कार्यालयका अनुसार हुम्लामा एक पनि प्रहरी चौकीमा क्षति भएको तर पुरा विवरण आउन बाँकी छ। हावाहुरीका कारण कर्णालीको विद्युत् अवरुद्ध भएको छ।  

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १९:१९
Weather Update