News Griha :: न्यूजगृह
सर्लाहीको चुरे जंगलमा युवकको शव भेटियो

काठमाडौं— सर्लाहीको बागमती नगरपालिका-१ मा एक युवकको शव फेला परेको छ। 

चुरेमा पर्ने बागमती नदी छेउको जंगल क्षेत्रमा शुक्रबार साँझ वेवारिसे शव फेला परेको हो।

बागमती १ ढोपबाट हिरेडाँडा जाने सडकदेखि झण्डै सात सय मिटर पूर्वतर्फ खोल्सीमा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल गिरीले जानकारी दिए।

‘शव सडिसकेको छ। करिब एक साता अघि नै मृत्यु भएको जस्तो देखिने शवको सनाखत हुन सकेको छैन,’ इन्स्पेक्टर गिरीले भने, ‘शव परीक्षणको लागि हामीले शुक्रबार राति नै प्रादेशिक अस्पताल मलङ्गवा पठाएका छौँ।’

जंगलमा कर्कलो टिप्न गएका स्थानीयले खोल्सीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

युवकको मृत्युको कारण पनि नखुलेको गिरीको भनाई छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:०७
Weather Update