
काठमाडौं— लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना ब्राजिलका नागरिक हुन्। उनीहरूलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस छन्। उनीहरूको साथबाट १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गर्न सकिएको उनको भनाइ छ। चैत १३ गते काठमाडौंको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको पनि थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको कार्कीले बताए।
उनीहरूको पेटमा थप क्याप्सुलहरु हुनसक्ने आशङ्कामा दुवै जनालाई प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउँदै नेपालमा तस्करी गर्ने खुलेको छ।
दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ। यस्तै कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर हुन आउने प्रहरीको भनाइ छ।